बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई पूर्वमन्त्रीसहित १६ जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार कसुर ठहरको फैसला सुनाउँदै दोषी ठहर भएका व्यक्तिहरूको सजाय आगामी २९ गते निर्धारण गर्ने मिति तोकेको हो।
गत २७ जेठदेखि निरन्तर सुनुवाइ भएको यस मुद्दामा अदालतले १६ जनालाई दोषी ठहर गरेको छ। फरार रहेका ८ जनाको हकमा मुद्दा मुल्तवी राखिएको छ भने ७ जनाले अभियोगबाट सफाइ पाएका छन्।
दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, बेचन झा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल रहेका छन्। अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई मतियारका रूपमा दोषी ठहर गरेको छ।
यस्तै, रामशरण केसी, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीले भने अभियोगबाट सफाइ पाएका छन्।
यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोगमा पहिलो मुद्दा दायर गरेको थियो। त्यसपछि २०८१ वैशाख ९ गते थप पाँच जनालाई प्रतिवादी बनाएर अर्को मुद्दा दायर गरिएको थियो। बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ गते तेस्रो मुद्दा दर्ता गरिएको थियो।
उच्च राजनीतिक तहसम्म जोडिएको यस प्रकरणमा अदालतले कसुर ठहर गरेसँगै अब सबैको ध्यान आगामी २९ गते हुने सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्