इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन्। उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई स्पष्टीकरणका लागि बोलाएको छ।
सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा डीएसपी चौधरीले, "हामी बालेनको पुलिस होइनौँ, केपी ओलीलाई थुन्ने पनि हामी हौँ, हामी टीका लगाएर आएका होइनौँ, हामी दारु–भात खाएर आएका होइनौँ" भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा र बहस सुरु भएको छ।
उनको अभिव्यक्तिप्रति आलोचना गर्दै विभिन्न पक्षले प्रहरी अधिकारीले आफ्नो जिम्मेवारी र भूमिकाको सीमाभन्दा बाहिर गएर राजनीतिक प्रसंग उठाएको बताएका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिले निष्पक्षता, संयमता र संस्थागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिँदै उनीहरूले यस्तो अभिव्यक्तिले प्रहरी संगठनको तटस्थ छविमा समेत प्रश्न उठाएको टिप्पणी गरेका छन्।
आलोचकहरूले जनप्रतिनिधि टीका लगाएर नभई जनताको मतबाट निर्वाचित हुने स्मरण गराउँदै नागरिकले दारु–भातका आधारमा मात्र नभई आफ्नो विचार, आस्था र भविष्यप्रतिको विश्वासका आधारमा पनि मतदान गर्ने बताएका छन्। सार्वजनिक मञ्चबाट जनप्रतिनिधिको सम्मानमा आँच पुग्ने अभिव्यक्ति दिनु उपयुक्त नभएको उनीहरूको भनाइ छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीले डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि बोलाएको पुष्टि गरेको छ। प्रहरीका अनुसार घटनाबारे आवश्यक सोधपुछ तथा छानबिन प्रक्रिया अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने जनाइएको छ। डीएसपी चौधरीले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्