चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’ ले करिब ९ वर्षपछि फेरि मानवीय क्षति पुर्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा भएको हृदयविदारक घटनामा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको छ।
रातको समयमा जंगलबाट बस्ती पसेको ध्रुवेले घरमै रहेका आमा–छोरामाथि अचानक आक्रमण गरेको थियो। घटनामा दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
आक्रमणपछि हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्ने प्रयास गर्दा घरमा आगलागी भएको थियो। आगलागीका कारण घर पूर्ण रूपमा नष्ट भएको छ। यससँगै परिवारले एकै रातमा आफ्ना प्रियजन र आश्रय दुवै गुमाएको छ।
घटनापछि ध्रुवे पुनः चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रतर्फ फर्किएको जनाइएको छ।
यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको मृत्यु भएपछि लामो समयसम्म यसबाट मानवीय क्षति भएको थिएन।
चितवन राष्ट्रिय निकुञ्जकै सबैभन्दा आक्रामक जंगली हात्तीका रूपमा चिनिने ध्रुवेले २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको हो। २०६९ सालसम्म १५ जनाको ज्यान लिएपछि यसलाई नियन्त्रण गर्न सरकारले मार्ने निर्णयसमेत गरेको थियो। तर, विभिन्न प्रयासका बाबजुद ध्रुवे जीवित रहँदै आएको छ।
निकुञ्ज प्रशासनले यसको घाँटीमा रेडियो कलर जडान, निगरानी तथा व्यवहार नियन्त्रणका विभिन्न उपाय अपनाएको भए पनि पछिल्लो समय फेरि बस्ती पसेर मानवीय क्षति पुर्याएको हो।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। निकुञ्ज प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्