Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीको फेरि दाह्रा काटिने, नयाँ रेडियो कलर जडान गरिने

चितवनमा २५ जनाको ज्यान लिइसकेको कुख्यात जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर फेरि दाह्रा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। दुई वर्षअघि पनि ध्रुवेको दाह्रा छोट्याइएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई भेट्नासाथ ‘डार्ट’ गरेर बेहोस बनाइनेछ। त्यसपछि यसको दाह्रा छोट्याउने र नयाँ रेडियो कलर जडान गरिनेछ।

उनले हाल प्रयोग भइरहेको रेडियो कलर प्रभावकारी रूपमा सूचना दिन नसकेकाले नयाँ उपकरण जडान गर्न लागिएको बताए। नयाँ रेडियो कलर जडान भएपछि हात्ती बस्तीतर्फ प्रवेश गर्नेबित्तिकै सूचना प्राप्त हुने र स्थानीयलाई समयमै सतर्क गराउन सहज हुने अपेक्षा गरिएको छ।

ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। उक्त घटनापछि निकुञ्जले हात्तीको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

सोमबार साँझ ध्रुवे मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्र पुगेको थियो। त्यहाँ उसले वनको गेटमा क्षति पुर्‍याउनुका साथै स्थानीय दुई घरमा पसेर अन्नसमेत खाएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार ध्रुवेले २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको हो। २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिएपछि प्रशासनले यसलाई मार्ने निर्णयसमेत गरेको थियो। पछि यसको गतिविधि नियन्त्रणका लागि पटक–पटक रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने उपाय अपनाइएको थियो।

२०७४ सालमा नेपाली सेनाका एक सेनानीको ज्यान लिएपछि झन्डै नौ वर्षसम्म कुनै मानवीय क्षति नगरेको ध्रुवेले यस वर्ष पुनः आमाछोराको ज्यान लिएसँगै यसको व्यवस्थापनमा निकुञ्जले विशेष तयारी थालेको हो।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ४५ देखि ५० वटा जंगली हात्ती रहेको अनुमान छ। ध्रुवे, रोनाल्डो र गोविन्दे त्यहाँका परिचित भाले हात्ती हुन्। निकुञ्ज प्रशासनले ध्रुवेको आक्रमणबाट क्षति पुगेको घर पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्