Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सीके राउतको पहलमा ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठन, हर्क, कुलमान र बाबुरामसँग एकताको तयारी

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल अघि बढाइएको छ। पार्टीले समान राजनीतिक विचारधारा, सिद्धान्त र लक्ष्य बोकेका दलहरूबीच सहकार्य, एकीकरण र साझा मोर्चा निर्माण गर्ने रणनीतिअनुसार औपचारिक छलफल सुरु गर्ने निर्णय गरेको हो।

जनमत पार्टीले यस अभियानअन्तर्गत हर्क साम्पाङ, कुलमान घिसिङ र बाबुराम भट्टराई सँग राजनीतिक सहकार्य तथा एकताको सम्भावनाबारे संवाद अघि बढाउने तयारी गरेको जनाएको छ।

पार्टीका अनुसार श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग समेत मोर्चाबन्दीका लागि प्रारम्भिक छलफल अघि बढाइनेछ। वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दै देशमा नयाँ राजनीतिक धार स्थापित गर्ने लक्ष्यसहित यो पहल अघि सारिएको जनमत पार्टीको भनाइ छ।

यसै क्रममा पार्टीले विशेष वार्ता संयन्त्र समेत गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार संयन्त्रमार्फत विभिन्न दल तथा नेताहरूसँग औपचारिक संवाद अघि बढाइनेछ।

वार्ता कार्यदलको संयोजकमा नरेन्द्र चौधरीलाई तोकिएको छ भने सदस्यमा डा. जयकान्त राउत र प्रमोदकुमार गुप्ता रहेका छन्। कार्यदलले सम्भावित सहकार्य, मोर्चा गठनको संरचना र राजनीतिक एजेन्डाबारे विस्तृत छलफल गर्ने जनाइएको छ।

जनमत पार्टीले आगामी दिनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकीकृत मोर्चा निर्माण भए देशको राजनीतिक विकल्प सुदृढ हुने अपेक्षा गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्