Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान

चितवनबाट अपहरणमा परेका १६ वर्षीय एक बालकको सकुशल उद्धार गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ असारमा काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट बालकलाई उद्धार गर्दै अपहरणमा संलग्न पाँच भारतीय नागरिकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अपहरणकारीहरूले बालकका परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेका थिए। पक्राउ पर्नेमा बिहार बेतियाका सुजित कुमार, गोलुकुमार सोनी, बिक्की कुमार, मोहम्मद साहिद र अर्का गोलुकुमार रहेका छन्। घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीका चालक मुमताज आलम र चितवनमा बसोबासको व्यवस्था मिलाइदिने सक्षम शर्मा भने फरार छन्।

अनुसन्धानका अनुसार मुख्य योजनाकार सुजित कुमार र अपहरित बालक चितवनमा सँगै अध्ययन गरेका साथी थिए। भारत गएपछि पनि उनीहरूबीच सामाजिक सञ्जालमार्फत सम्पर्क कायम रहेको थियो। अपहरणको योजना बनाएर नेपाल आएका सुजितले १ असारमा इन्स्टाग्राममार्फत बालकलाई भेट्न बोलाएका थिए।

साँझ नारायणगढस्थित सिद्धार्थ बोर्डिङ स्कुल पछाडि पुगेका बालकलाई जबरजस्ती भारतीय नम्बर प्लेटको गाडीमा राखेर चितवनको एक होटल लगिएको थियो। केही समयपछि चक्कु देखाएर धम्क्याउँदै उनलाई काठमाडौं ल्याइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अपहरणकारीहरूले ३० जेठमा वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका थिए। उनीहरूले नेपाली सिमकार्ड प्रयोग गरी ह्वाट्सएपमार्फत मात्रै सम्पर्क गरेका थिए। अपहरणपछि बालकका बाबुसँग सम्पर्क गर्दै २४ घण्टाभित्र २२ लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

तर अपहरणकारीहरूको योजना बालककै चलाखीका कारण असफल भयो। मुग्लिनमा मोबाइल चार्जर खरिद गर्दा त्यसको प्याकेटमा रहेको कागज बालकले लुकाएर राखेका थिए। काठमाडौं पुगेपछि होटलको बाथरुममा गएर उनले त्यसै कागजमा आफू अपहरणमा परेको जानकारी, आफ्नो नाम र बाबुको फोन नम्बर लेखी होटल बाहिर फालेका थिए।

कागज फेला पारेका एक व्यक्तिले त्यसमा लेखिएको नम्बरमा सम्पर्क गरेपछि बालकका बाबुले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उक्त क्षेत्रका होटलहरूमा खोजी गर्दा नयाँ बसपार्कस्थित फेमिली होटलको कोठा नम्बर २०३ बाट बालकलाई सकुशल उद्धार गरेको थियो।

प्रहरीले सोही कोठाबाट बालकलाई धम्क्याउन प्रयोग गरिएका दुई वटा चक्कुसमेत बरामद गरेको जनाएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार परिचित व्यक्तिबाट हुने अपहरणका घटनामा फिरौती असुलेपछि प्रमाण मेटाउन अपहरितको ज्यानसमेत लिन सकिने जोखिम रहने गर्दछ। तर यस घटनामा बालकले समयमै चलाखी देखाएर सुराकी छाडेका कारण उनको ज्यान जोगिएको प्रहरीको निष्कर्ष छ।

घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका आरोपीहरू तथा उद्धार गरिएका बालकलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्