बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
वीरगञ्जबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बसले वीरगञ्ज–पथलैया सडक खण्डमा अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको थियो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश नरौलाको नेतृत्वमा ५ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीको नेतृत्वमा ५ जना तथा सशस्त्र प्रहरी सुरक्षा बेस जितपुर बकुलियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्व योन्जनको नेतृत्वमा ८ जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो। सुरक्षाकर्मीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए।
प्रहरीका अनुसार ७ जना घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचाररत घाइतेहरूमा सप्तरीको तिलाठी कोईली गाउँपालिका–१ का ४२ वर्षीय कमलेश यादव, उनकी ३४ वर्षीया श्रीमती रुबी यादव, १५ वर्षीया छोरी शिवानी यादव, पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ६४ वर्षीय रामनरेश प्रसाद, बसका सहचालक सप्तरीको कञ्चनरुप नगरपालिका–१ का ४७ वर्षीय नरेश पञ्जियार तथा पर्साको पकहा मैनपुर गाउँपालिका–५ का २८ वर्षीय धन्नजय प्रसाद चौरसिया रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
यस्तै, पर्साको बहुदरमाई नगरपालिका–२ की ३४ वर्षीया सुनिता यादव पनि घाइते भएकी छन्। उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते सिराहाको करजना नगरपालिका–११ का ६२ वर्षीय चिनीलाल श्रेष्ठको भने वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। उनको छातीमा गम्भीर भित्री चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाइसकिएको र हाल उक्त सडक खण्डमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्