सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
नियुक्तिपछि डा. सिंहले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। शपथसँगै उहाँले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।
अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। सरकारद्वारा तीमध्येबाट डा. सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो।
डा. सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब ४६ वर्ष सेवा गरी अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुनुहुन्छ। उहाँ स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको व्यक्तिका रूपमा परिचित हुनुहुन्छ।
सरकारले अनुभवी चिकित्सकलाई अस्पतालको नेतृत्वमा नियुक्त गरेसँगै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्