नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरेपछि काठमाडौं ल्याइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौं ल्याएर विभागको नियन्त्रणमा राखिएको हो। पक्राउपछि उनलाई सोमबार साँझ बाँकेको नेपालगन्ज पुर्याइएको थियो। त्यहाँबाट राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको विभागले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार अब पौडेललाई म्याद थपका लागि विशेष सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा उपस्थित गराइनेछ।
‘उहाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी विशेष सरकारी वकिल कार्यालय, माइतीघर लगिनेछ र त्यसपछि विशेष अदालतमा उपस्थित गराइनेछ,’ घिमिरेले बताए।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। पक्राउ गर्नुअघि अनुसन्धान टोलीले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो।
उच्च राजनीतिक पदमा रहेका नेताविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अगाडि बढेपछि घटनाले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ। विभागले भने अनुसन्धान जारी रहेकाले यसबारे थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्