वर्षायाममा मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौं उपत्यकामा हुने खानेपानी अभावलाई केही हदसम्म पूर्ति गर्न बागमती नदीबाट ल्याइने पानीको वितरण क्षमता बढाइने भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बागमती नदीदेखि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्म करिब ५ सय मिटर दूरीमा ५ सय मिलिमिटर व्यासको एचडीपीई (HDPE) पाइप बिछ्याउने तयारी गरेको हो। यसबाट हालको तुलनामा पानी संकलन क्षमता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
केयूकेएलका प्रवन्धक तथा प्रवक्ता प्रकाशकुमार राईका अनुसार अहिले दुई वटा पाइपमार्फत सीमित मात्रामा पानी ल्याइँदै आएको छ। नयाँ पाइप थपिएपछि यो क्षमता विस्तार हुनेछ।
"यो वर्षायामका लागि गरिएको अस्थायी व्यवस्था हो। हिउँदयाम सुरु भएपछि यो प्रणाली स्वतः बन्द हुनेछ," प्रवक्ता राईले बताए।
यसका लागि केयूकेएलले पूर्वाधार विकास मन्त्रालयमार्फत कृषि, वन तथा पर्यावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनअनुसार आयोजना 'ग्राभिटी फ्लो' प्रणालीमा सञ्चालन हुनेछ।
नयाँ पाइपलाइन शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्म ल्याइनेछ। हाल सञ्चालनमा रहेका दुई पाइपमध्ये करिब १५० मिटर भाग जमिनमुनि र ३६५ मिटर खुला अवस्थामा रहेको छ। नयाँ पाइप पनि सोही ढाँचामा व्यवस्थापन गरिने योजना छ।
हालका दुई पाइपबाट वर्षायाममा दैनिक करिब ४ करोड लिटर पानी ल्याउने क्षमता छ। नयाँ ५ सय मिलिमिटर पाइप थपिएपछि मात्रै दैनिक ६ करोड लिटर पानी संकलन गर्न सकिनेछ। यसरी तीनवटा पाइपमार्फत दैनिक १० करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पुर्याउने लक्ष्य राखिएको छ।
प्रतिवेदनअनुसार यो प्रणाली प्रत्येक वर्ष असारदेखि असोजसम्म मात्रै सञ्चालन हुनेछ। बाँकी आठ महिना बन्द रहनेछ। यस वर्ष भने मध्य असारसम्म पनि बागमतीबाट पानी ल्याउने काम सुरु हुन नसकेको केयूकेएलले जनाएको छ।
मेलम्ची प्रभावित हुँदा वैकल्पिक व्यवस्था
केयूकेएलका अनुसार यो योजना मेलम्ची खानेपानी आयोजना नियमित रूपमा सञ्चालन नभएसम्मका लागि अस्थायी विकल्प हो। त्यसैले पाइपलाइनलाई पूर्ण रूपमा भूमिगत बनाउने योजना छैन।
मेलम्ची आयोजनाको मुहान क्षेत्रमा वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकाले हरेक वर्ष आयोजना केही समयका लागि बन्द गर्नुपर्ने अवस्था आउँछ। त्यसबेला उपत्यकामा खानेपानीको अभाव कम गर्न बागमती नदीको माथिल्लो तटीय क्षेत्र फट्केबाट पानी ल्याइनेछ।
सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा बागमतीको पानी प्रशोधन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गरिनेछ।
प्रतिवेदनअनुसार वर्षायाममा बागमती नदीमा दैनिक करिब २५ करोड ३६ लाख ४८ हजार लिटर पानी बग्ने अनुमान गरिएको छ। यस आयोजनाबाट २ लाखभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
हाल मेलम्ची आयोजनाबाट दैनिक करिब १७ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ। तर काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको अनुमान छ। मेलम्चीबाहेक अन्य स्रोतबाट पनि पानी वितरण गरिए पनि उपत्यकाको कुल माग अझै पूरा हुन सकेको छैन।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्