एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि आगामी तीन वर्षमा करिब ३ खर्ब ५० अर्ब रुपैयाँ (२.४ अर्ब अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि एडीबीका अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म नेपाललाई थप २.४ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत नेपालको विकास, आर्थिक सुधार र समावेशी वृद्धिका कार्यक्रमलाई एडीबीले निरन्तर साथ दिने बताएका छन्।
अध्यक्ष कान्दाले प्रधानमन्त्री शाहलाई जनादेशका लागि बधाई दिँदै सरकारद्वारा अघि सारिएका आर्थिक सुधार, रोजगारी सिर्जना, निजी लगानी विस्तार र आर्थिक रूपान्तरणका कार्यक्रमलाई एडीबीले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपाल एडीबीको दीर्घकालीन विकास साझेदार रहेको उल्लेख गर्दै सुरक्षित विद्यालय निर्माण, स्वच्छ ऊर्जा, पूर्वाधार विकास र नागरिकका लागि आर्थिक अवसर सिर्जना गर्ने परियोजनामा एडीबीले निरन्तर लगानी गर्दै आएको बताए। आगामी दिनमा पनि दिगो र परिणाममुखी विकास परियोजनामा सरकारसँग सहकार्य अझ सुदृढ बनाइने उनको भनाइ छ।
एडीबी अध्यक्ष कान्दा आइतबार राति नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्री शाहसँगको भेटमा सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास तथा लगानी प्रवर्द्धनका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्