एसियाली विकास बैंक (ADB) ले नेपालको भन्सार प्रशासनलाई आधुनिक बनाउने तथा व्यापार र ढुवानी (ट्रेड लजिस्टिक्स) प्रणाली सुधार गर्ने उद्देश्यले ५ करोड अमेरिकी डलर (USD 50 Million) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ।
एडीबीका अनुसार उक्त कार्यक्रममार्फत भन्सार प्रणालीमा डिजिटल प्रविधिको प्रयोग विस्तार गरिने, जोखिममा आधारित भन्सार निरीक्षण (Risk-based Inspection) लागू गरिने तथा भन्सार प्रक्रियालाई थप सरलीकरण गरिनेछ। यसबाट सीमामा हुने भन्सार जाँच छिटो हुने, व्यापार लागत घट्ने तथा आयात–निर्यात प्रक्रिया सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
बैंकले यी सुधारहरूले नेपालको व्यापार प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै निर्यात विस्तार र निजी क्षेत्रको लगानी आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ।
एडीबीका अनुसार कार्यक्रमबाट विशेषगरी साना तथा मझौला उद्योग (SMEs) ले प्रत्यक्ष लाभ पाउनेछन्। व्यापार प्रक्रियामा सुधारसँगै रोजगारी सिर्जना हुने र समावेशी आर्थिक वृद्धिलाई समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सरकारले पनि भन्सार प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यका साथ सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ। सरकारले अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, सुरक्षित र प्रतिस्पर्धी बनाउने रणनीतिअनुसार भन्सार प्रणालीमा व्यापक सुधारलाई प्राथमिकता दिएको बताएको छ।
यो कार्यक्रम कार्यान्वयनमा आएपछि नेपालको व्यापारिक वातावरण सुधार हुनुका साथै सीमा नाकामा हुने प्रक्रियागत जटिलता घट्ने र निजी क्षेत्रलाई व्यवसाय विस्तारमा थप सहजता मिल्ने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्